अन्त्यमा माधव समूह बन्यो घर न घाटको ! काङ्ग्रेसले नेपाल पक्षको विश्वासको मत नलिने घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ साउन ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नपर्ने देखिएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नदेखिएको हो ।

ठाकुर समूहबाट १२ जनाले विश्वासको मत दिँदा प्रधानमन्त्री देउवालाई बुहमत पुग्छ । हाल कांग्रेससँग ६१, माओवादी केन्द्रसँग सभामुखसहित ४९, राष्ट्रिय जनमोर्चाको १, स्वतन्त्र सांसद १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३२ मत सुनिश्चित रहेको छ । यसमा जसपाको महन्थ पक्षका १२ सांसद पनि मिसिदा १४२ मत पुग्छ । विश्वासको मत पाउनलाई १३६ आवश्यक रहन्छ ।

यसअघि संसद् विघटन हुँदा नेपाल पक्षबाट २३ जनाले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका थिए । तर, आइतबारको विश्वास मत दिने विषयमा क–कस्ले दिने भन्ने विषयमा नेपाल समूहबाट यकिन विवरण आएको छैन । नेपाल समूहका नेता एवं सांसद भीम रावलले भने सांसद पदबाट राजीनामा दिइसकेका छन् ।