आइतबार ह्वात्तै घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ साउन ।

आइतबार सुनचाँदीको मूल्य केही घटेको छ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै सोही परिमाणको तेजावी सुनलाई भने आइतबार ९२ हजार १ सय रुपैयाँ पर्नेछ । तेजावी सुन गत साता शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार चाँदीको पनि मूल्य घटेको छ । शुक्रबार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नबिल बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक ८ प्रतिशत ब्याज

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता बराबरको ऋण पत्र जारी गर्न लागेको हो । ऋणपत्रको व्याजदर वार्षिक ८ प्रतिशत रहने बताइएको छ ।

यस मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । त्यस्तै, १२ कित्ता मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ ।

बैंकका अनुसार ऋणपत्र १० साउनसम्ममा निष्कासन गरिने र १३ गतेसम्म आवेदन खुला राखिने जनाएको छ । ढिलोमा २४ साउनमा ऋणपत्र बन्द हुने छ ।

उक्त ऋण पत्रकाे अवधी ७ वर्षको हुने छ । अवधि पूरा भएपछि बक्याैता ब्याज र साँउसहित बैंकले खरिदकर्तालाइ ऋण पत्रकाे रकम फिर्ता गर्ने छ ।