कांग्रेस सरकारले लोकप्रियताका लागि पेट्रोलको मूल्य १ रुपैयाँ घटायो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ साउन ।

देशमा नेपाली कांग्रेसले सरकार गठन गरेलगतै पेट्रोलियम पदार्थमा केही मूल्य घटेको छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ तल झरेको छ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२९ बाट घटेर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई बुझ्न आग्रह गरिएको छ ।

यसअघि हप्तामै दुईपटक सम्म बढेको मूल्य घटाइएको भएपनि सामान्य रुपमा मात्र देखिएको छ । १ रुपैयाँ मूल्य घटाएर वर्तमान सरकारले आफ्नो लोकप्रियता देखावटी बनाउन खोजेको सर्वसाधरणले आरोप लगाएका छन् ।