देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय, १० बुँदे सहमति अनुमोदन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ साउन ।

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले देउवा सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो ।

साथै पार्टी एकताका लागि संस्थापन ओली समूह र असन्तुष्ट माधवकुमार नेपाल समूहको कार्यदलबीच भएको १० बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनकाअनुसार कार्यदललाई धन्यवाद दिँदै बैठकले कार्यदल विघटन समेत गरेको छ । नेपाल समूहका भीम रावलसहितका नेताहरु बैठक स्थल पुगेर बैठक रोक्न गरेको मागलाई अस्वीकार गर्दै अध्यक्ष ओलीले बैठक अघि बढाएका थिए ।

देउवा सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने, १० बुँदे सहमति अनुमोदन र कार्यदल विघटन निर्णय गरिँदा नेपाल समूहका नेताहरु सहभागी थिएनन् । संस्थापन ओली समूहका नेताहरु सहभागी बैठकले सो निर्णय गरेको हो ।