काठमाडौँ, १ साउन ।
एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एक महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, एमालेको नेपाल समूहको समर्थनबिना देउवा सरकारले विश्वासको मत पाउने सम्भावना छैन ।
आज शुक्रबार एमालेको स्थायी कमिटीको बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । देउवा सरकारलाई विश्वासको मत दिने विषयमा सोच्न पनि नसकिने भन्दै विश्वासतको मत नदिन बैठकले निर्देशन पनि दिएको छ ।
तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरुलाई भने विश्वासको मत दिन भने बाटो खुला पनि गरेको छ । बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कुनै नेताले विश्वासको मत दिएमा व्यक्तिगत निर्णय हुने बताए ।
सर्वाेच्च अदालतले बाटो खोलिदिएकाले एमालेका कोही नेताहरुले विश्वासको मत दिए व्यक्तिगत निर्णय हुने भन्दै ज्ञवालीले भने, ‘कसैले सरकारलाई विश्वासको मत दिनुहुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ, उहाँहरु जान सक्नुहुन्छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुन्छ ।’ तर, उनले पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको जानकारी दिए ।