मानुषी लघुवित्त र सानिमा लाइफलाई आईपीओ ल्याउन अनुमति

हाम्रो सन्देश संवाददाता

पोखरा, १ साउन ।

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले सानिमा र मानुषीलाई यस्तो अनुमति दिएको हो ।

मानुषी लघुवित्तलाई तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको बोर्डका सूचना अधिकारी रुपेश केसीले जानकारी दिए ।

मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते र सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते बोर्डसँग सेयर बिक्रीका लागि अनुमति माग गरेका थिए ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३/३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।