अन्तर्राष्ट्रिय उडान: प्लेन भाडा किन अत्यधिक महँगो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ साउन ।

नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो यात्रुहरूको रहेको छ।

युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासो सुनिन्छ।

काठमाण्डूमा रहेको एउटा ट्राभल एजेन्सीकी सञ्चालक देवकी गुरुङले चार्टर्ड उडान बन्द गरेर नियमित उडान सञ्चालनमा आए पनि भाडा साबिकबाट दोबरभन्दा नघटेको बताइन्।

“युरोपका लागि पहिला ५०-५५ हजारमा एकतर्फी टिकट पाइन्थ्यो भने जुलाई २० तारिखपछिका लागि हामीले काटेको टिकटको भाडा दोबर छ। यो बीचमा त ‘रेट’ भन्ने नै थिएन जति राख्दा पनि भयो,” गुरुङले बीबीसीसँग भनिन्।

“अस्ट्रेलिया जान रोकिएकाहरू त चार-पाँच लाखसम्मको भए पनि टिकट जसरी पनि मिलाइदिनूस् भनिरहेका छन्।”

उनका अनुसार खाडी मुलुक जाने कामदारको हकमा उडान भाडा झन् बढी छ र उनीहरू मारमा परेका छन्।