महँगो भाडा लिइएको समाचारप्रती हिमालय एयरलाइन्सको आपत्ति

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ असार ।

हिमालय एयरलाइन्सले हालै विभिन्न समाचार तथा सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सले काठमाडौंदेखि दमामसम्मको उडानमा उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवाशुल्क लिएको झुटो अफवाह फैलाएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल सरकार र साउदी सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गर्दै आवश्यक भाडाअन्तर्गत हवाई भाडा, प्रवासमा क्वारेन्टिन सुविधा र सम्बन्धित कोरोना स्वास्थ्य सुविधासहित समावेश गरिएको एयरलाइन्सको भनाइ छ । एयरलाइन्सले सबै नियामक कर, होटल यातायात र सात रात होटल बसोबास शुल्क, बिहानको खाजा, खाना, डिनरसमेत दमाम पुग्दा गरिने दुई पीसीआर परीक्षण सुविधासमेत प्रदान गर्दै आएको जनाएको छ । साउदी सरकारले यात्रुलाई तोकेको क्वारेन्टिन होटलमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले नियमित हवाई बन्डल भाडाको तुलनामा हालको भाडा अलि महँगो हुुन गएको पनि एयरलाइन्सले स्पष्ट पारेको छ ।

नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले हवाई उडान सुचारु भएपछि साउदीको दमाममा दुई साप्ताहिक उडान सञ्चालन गर्दै आएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछिको निषेधाज्ञाअघि एयरलाइन्सले २०१७ सेप्टेम्बर १ देखि दमाममा नियमित १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आएको थियो । हालै उडान पुनः सुरु भएपछि दमाम, साउदी उडान गर्ने यात्रु बढेको जनाउँदै यही जुलाई ११ देखि चार साप्ताहिक उडान गर्दै आएको एयरलाइन्सले जनाएको छ ।