काठमाडौँ, ३० असार ।
माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको कोटाबाट उनी मन्त्री बन्ने बुझिएको छ । माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा प्रचण्डलाई दिएकाले उनको सम्भावना प्रवल रहेको प्रचण्ड निकट श्रोतको भनाई छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौ पटक प्रधानमन्त्री बन्दैछन्।
देउवालाई साँझ ५ बजे प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ। सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।देउावाको यही सरकारमा महरा मन्त्री बन्ने छन् । प्रधानमन्त्रीमा नियक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन्।
माधव नेपाल समूहको एमाले भने मन्त्रिमण्डल गठनमा सहभागी नहुने भएको छ। सोमवार विपक्षी ५ राजनीतिक दलको गठबन्धनको बैठकपछि आफूहरु अलग्गिने माधव समूहले जनाएको थियो।
गठबन्धनको बैठकमा मंगलवार नै मन्त्रिपरिषद् गठन गर्ने निर्णयसमेत भएको थियो। यद्यपि आज पनि गठबन्धनको बैठक बस्ने र को को मन्त्री बन्नेबारे छलफलपछि अन्तिम टुंगोमा पुग्नेछ।नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजाल, गगन थापा, डिला संगौला लगायतको नाम चर्चामा छन् । यद्यपि मन्त्रीहरुको अन्तम टुङ्गो सभापति देउवाले लगाउने छन् ।
माओवादी केन्द्रका नेता देव गुरुङले शीर्ष नेताले मन्त्रीबारे टंगो लगाउने बताए। ‘नेताहरुले जसलाई चाहनुहुन्छ अहिलेलाई त्यही हुन्छ। टुंगो लागिसकेको छैन,’ उनले भने।शीर्ष नेताकै नेतृत्वमा सरकारमा सामेल हुनेबारे माओवादी भित्र छलफल सुरु भएको छ। त्यसका लागि महरासहित नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्झा भुषाल, देवेन्द्र पौडेलको नाम चर्चामा छ।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन श्रेष्ठलाई प्रचण्डले मन्त्री बनाउने सम्भावना बढी रहेको प्रचण्ड निकट नेताले बताए। जसपा तत्काल सरकारमा सहभागी नहुने भएको छ भने जनमोर्चाबाट दर्गा पौडेल मन्त्री बन्ने भएकी छन् ।
कांग्रेसबाट को–को बन्दैछन् ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमान नियुक्त हुने भएपछि सरकारमा को(को जाने भन्ने विषयमा छलफल भइरहेको छ ।सभापति देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।
आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २-२ जनालाई मंगलबार मन्त्रिपरिषदमा समेट्न चाहेका छन् ।
जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् । कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा मिनेन्द्र रिजालको नाम चर्चामा छ ।खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् ।देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेको छ ।
कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाइ दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा। शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् ।सर्वोच्च अदालतले सोमबार संसद् पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवलाई प्रधामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो । लाईभ गण्डकी बाट साभार गरीएको हो ।