नेता कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असार ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लागेका छन्। सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने भएको छ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

उनले बालुवाटार छोड्नु अघि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन लाई पुनर्स्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेपछि मंगलबार सिंहदरबारबाट विदाई सम्बोधन गर्दे ओलीले जनादेश आफूसँग भएपनि सर्वोच्चको परमादेशका कारण बाहिरिनु परेको बताएका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले अदालतको फैसला आफूहरुको विरुद्ध र संवैधानिक हिसाबले अनूचित भएपनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएका हैसियतले फैसलाको पालना गर्ने बिषयमा पार्टी स्पष्ट रहेको बताए ।