नेपालप्रति ओलीको टिप्पणीः आफ्नै टिमका खेलाडीले गोल पोष्ट खाली गरिदिए

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका छन्।

नेपाल समूहले देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बझुाएको र अदालतमा समेत त्यसको पक्षमा उभिएको भन्दै ओलीले आफूमाथि आफ्नै टिमबाट धोका भएको दाबी गरे।

मंगलबार प्रधानमन्त्री पद छाड्नु अघि देशबासीका नाममा सम्बोधन गर्दैै ओलीले मंगलबार सर्वोच्चले गरेको सम्बोधनप्रति तीव्र आक्रोश पोखे। ओलीको आक्रोशको निशानामा नेता नेपाल पनि परेका हुन्।

नेपालले अनुशासनहीन र अराजक काम गरेको ओलीको आरोप थियो।

उनले भने, ‘पार्टीभित्रैबाट अनुशासनहीन अराजक गतिविधि गरियो, सरकालाई असफल पार्न लागियो। आफ्नै टिमका खेलाडीले अर्को टिमको खेलाडीलाई बल पास गरिदिए। बल रोक्न छाडेर गोल पोष्ट नै खाली गरियो। यस किसिमका आपराधिक काम गरियो। विपक्षी दलको नेताको पक्षमा हस्ताक्षर गरियो, त्यसका पक्षमा सम्मानित अदालतमा उभिन गयो।’

आफ्नो पालामा देशमा विकासको लहर छाएको र त्यसबाट जनतामा गर्‍यो भने देशमा विकास हुने रहेछ भन्ने उत्साह थपिएको उनले दावी गरे। सरकारको लोकप्रियताबाट आत्तिएका केही व्यक्तिहरुले सरकारको बदनामा गर्ने सरकारविरुद्ध भ्रम फैलाएको उनको भनाइ थियो।

आफू अदालतको फैसलाबाट विचलित नहुने उनले बताए। अदालतले अनुचित फैसला गरेको उनको आरोप छ।

ओलीले आफ्ना कार्यकर्तालाई नआत्तिन पनि समेत अपिल गरे। उनले भने, ‘कार्यकर्तालाई आह्वान गर्छु, आत्तिने होइन, हामी दृढतापूर्वक लाग्नुपर्छ। हाम्रा कदम अघि बढाउनुपर्छ।’

उनले आफ्नो पार्टी अधिकतम डेढ वर्षसम्म मात्रै प्रतिपक्षमा बस्ने भविष्य वाणी गरे। त्यसपछि चुनाव जितेर फेरि सत्तामा फर्किने दाबी गरे।