मंगलबार पाँच बजे देउवाले प्रधानमन्त्रीको शपथ लिने

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ असार ।

सर्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो ।

सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री, राजीनामा बुझाउने सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।

स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न गएका हुन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावना रहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:र्स्थापना गर्ने फैसला गरेको थियो ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर गठबन्धनबाट बाहिरियो नेपाल समूह

नेकपा एमालेको माधवकुमार नेपाल समूह पाँच दलीय गठबन्धनबाट बाहिरिने भएको छ । आज साँझ कोटेश्‍वरमा भएको गठबन्धनको बैठकपछि नेपाल समूह बाहिरिने भएको हो । आफ्नै पार्टी केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नेपाल समूह बाहिएको छ ।

बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । ‘हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो ।

उनले अब गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने बताए । ‘गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा,’ पन्तले भने ।