के मध्यरातमा सङ्कटकाल घोषणा होला ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ असार ।

सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधान ट्रयाकमा आएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई फेरी अस्थिरतामा लाने कोसिस गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सङ्कटकाल लगाउन उक्साएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको परमादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष अधिकार भन्दै अस्वीकार गर्ने र स्वाभाविक रूपमा सङ्कटकाल लागु गर्ने ओली सरकारको तयारी रहेको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओली सङ्कटकाल लगाउने विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग सहमति माग्दै आएका थिए । तर, सेनापति थापाले सङ्कटकाल घोषणा गरे पनि सेना सडकमा नआउने जवाफ दिएका थिए ।

‘नेपाली सेना हिजो राजसंस्थाले राजसंस्थाकै लागि प्रशिक्षित गरेको जबरजस्त सङ्गठन हो । नेपाली सेनाले हिजो राजालाई पनि साथ नदिएर जनतालाई साथ दियो,’ एक पूर्व सैनिक अधिकारी भन्छन्,‘केपी ओली र विद्या भण्डारीका लागि नेपाली सेना सडकमा आएर प्रतिरक्षा गर्छ भन्ने हल्लामा म विश्वास गर्दिन । त्यो कदापि हुनेवाला छैन । सर्वोच्च अदालतको परमादेशलाई ओली वा विद्या जो कोहीले पनि मान्नुपर्छ । नेपाली सेनाले पनि मान्नुपर्छ ।’

यता नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि सरकारले सङ्कटकाल लगाउने सम्भावना शून्य रहेको बताए ।

‘हामीलाई अहिलेसम्म कुनै सूचना आएको छैन । सङ्कटकाल जस्तो विषय सुरक्षा परिषदबाट पास हुनुपर्छ,’ ती अधिकारीले भने,‘भोलि बिदा हुने सरकारले आज सङ्कटकाल लगाउने भन्ने त कल्पना बाहिरको कुरा हो । त्यो सम्भव छैन । दियो पोस्टबाट साभार