काठमाडौँ, २८ असार ।
वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोजगारीमा जान चाहनेलाई चीनबाट ल्याइएको कोभिडविरुद्धको खोप दिएर पठाउन लागिएको छ । रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरेपछि जान चाहेका कामदारलाई प्राथमिकिकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट खरिद गरी ल्याएको खोप वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ । यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खोप दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।
खोप लगाउदा भिसा र पासपोर्टको आधारमा खोप लगाइने मन्त्रालयले जनाएको छ । रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खोप लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोजगारमा जान चाहनेलाई खोप लगाउने भइएको हो ।
हाल खोप लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ । तर, अबको खोप कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राखिएको हो ।