केपी ओलीले बालुवाटारमा बोलाए स्थायी कमिटी बैठक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ असार ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आव्हान गरेका छन्। सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए।

पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ। तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र कार्यदलले गरेको उक्त सहमतिबारे असन्तुष्टि छ। नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।

यस्तै रामकुमारी झाँक्री, अष्टलक्ष्मी शाक्य, राजेन्द्र राईलगायतका नेताहरुले पनि अध्यक्ष ओलीसँग यथास्थितिमा कुनै सहमति नहुने अडान लिएका छन्। विपक्षी एमालेभित्र ‘प्रतिगमनको मतियारसँग झुकेको’ असन्तुष्टि चुलिएको छ।

यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्। पार्टीलाई पुरानै संरचनाअनुसार अघि बढाउनेलगायत १० बुँदामा कार्यदलबीच सहमति जुटेको थियो। एमालेले आइतबार पनि स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा आएर आजसम्मका लागि स्थगित गरिएको थियो।