अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ असार ।

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो । सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए ।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो । ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए । पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन ।

खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए । ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका गुमाएका थिए । त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगेपछि उपाधिबाट बन्चित हुँदै आएको थियो ।

यस्तै लिओनल मेसीका लागि पनि पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २-१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन ।

कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिएको छैन ।

अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो । सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित हुन परेको थियो । यस्तै सन् २०१४ को विश्वकपको उपाधि भिडन्तमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिना उपाधिविमुख भएको थियो ।