काठमाडौँ, २६ असार ।
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आयोजना गर्नको लागि भइरहेको संरचना निर्माणको काममा हजारौं नेपालीले ज्यान गुमाएको घटनाप्रति विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पूरै बेवास्ता गरेको छ । कतारमा स्टेडियम निर्माण गर्ने क्रममा हजारौं आप्रवासी कामदारको मृत्यु भएको कैयौं अन्तर्राष्ट्रिय समाचार संस्था र अन्तर्राष्ट्रिय अधिकार समूहहरुले रिपोर्ट सार्वजनिक गरिरहँदा फिफले भने ती तथ्यांकलाई अस्वीकार गरेको छ ।
गएको फेब्रुअरी महिनामा मात्रै बेलायतको प्रतिष्ठित समाचार संस्था द गार्डियनले कतारमा स्टेडियम निर्माणको क्रममा ५ दक्षिण एसियाली देशका मात्र ६ हजार ५ सय जना आप्रवासी कामदारको मृत्यु भएको रिपोर्ट प्रकाशित गरेको थियो । मृत्यु भएका यी आप्रवासी कामदारहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका भएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भारत, बंगलादेश, नेपाल र श्रीलंकाका कामदारहरु ५ हजार ९२७ जना र पाकिस्तानका कामदारहरु ८२४ जनाको मृत्यु भएको उल्लेख छ ।
रिपोर्टका अनुसार कतारले २०१० मा विश्वकप आयोजना गर्ने अधिकार पाएपछि २०२० सम्मको १० वर्षको अवधिमा कूल ६ हजार ७५० जनाको मृत्यु भएको छ । यीमध्ये सबैभन्दा धेरै २ हजार ७ सय ११ जना भारतका, दोस्रोमा १ हजार ६ सय ४१ जना नेपाली, १ हजार १८ जना बंगलादेशी, ८ सय २४ जना पाकिस्तानी र ५ सय ५७ जना श्रीलंकालीको मृत्यु भएको थियो । तर, कतार सरकारले भने यी मृत्यु भएकाहरुमध्ये ६९ प्रतिशतको मृत्यु प्राकृतिक कारणले भएको भनेको थियो ।
कतार विश्वकपका अधिकारीहरुले भने यो रिपोर्टलाई अस्वीकार गरेका छन् । अधिकारीहरुले विश्वकप स्टेडियम निर्माणको काममा मात्रै ३ जनाको मृत्यु भएको र काममा नभएका बेला ३५ जनाको मृत्यु भएको आश्चर्यजनक तथ्यांक सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मिडिया र अधिकार समूहले सार्वजनिक गरेको तथ्यांक र कतार विश्वकपका अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकमा आकाश पातालको अन्तर देखिन्छ । र, यी २ तथ्यांकको तुलना गर्नै नमिल्ने गरी अपत्यारिलो देखिन्छ ।
कतारको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीका महासचिव हसन अल थवादीले द गार्डियनको समाचार भंमपूर्ण रहेको दावी गरे । कतार विश्वकपको तयारीसम्बन्धी सबै काम गर्ने जिम्मेवारी पाएको सुप्रिम कमिटीका प्रमुख थवादीले सीएनएनका बेसी एन्डरसनसँग कुरा गर्दै भने ‘यस्ता सनसनीपूर्ण हेडलाइन आएपछि यसप्रति मानिसहरुको चिन्ता बढ्नु स्वभाविक हो जुन म बुझ्छु । तर, हामीले मैदानका तथ्यहरु पनि थाहा पाउनु जरुरी हुन्छ ।’
कतारले यस किसिमका दावी गर्नु स्वभाविक हो । उसले आफूले आयोजना गर्न लागेको विश्वकपमा आफ्नो छवि खराब हुन नदिन पनि यस्तो गरेको हुन सक्छ । तर, विश्व फुटबलको नियमनकारी सर्वोच्च संस्था फिफा पनि यस विषयमा कतारसँगै सहमत देखिएको छ । सीएनएनलाई एक लिखित वक्तव्य पठाउँदै फिफाले भनेको छ ‘फिफा र कतारी सुप्रिम कमिटी यी मृत्युहरुप्रति सधैं पारदर्शी रहे ।’ उसले कतारी सुप्रिम कमिटीले काम सम्बन्धी हरेक मृत्युको अनुसन्धान गर्ने दावी गरेको छ ।
फिफाले कतारी सुप्रिम कमिटीले निकै कडा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएकोले विश्वकपका लागि भइरहेका निर्माणमा अन्य निर्माणको तुलनामा मृत्युदर निकै कम रहेको समेत दावी गरेको छ । यद्यपि उसले कामदारहरुलाई शतप्रतिशत सुरक्षित राख्न भने निकै कठिन भएको स्वीकार गरेको छ । द गार्डियन भने त्यहाँ मृत्यु भएका कामदारको नियमित रुपमा अटोप्सी परीक्षण नगरिएका कारण उनीहरुको मृत्यु भएको कारण थाहा हुन नसकेको दावी गर्छ ।
कतारमा आप्रवासी कामदारको ठूलो संख्यामा मृत्यु भएको दावी गर्ने द गार्डियन पहिलो प्रतिष्ठित मिडिया होइन । २ वर्षअघि २०१९ को जूनमा पनि जर्मन प्रसारक डब्लुडिआरले कतारमा विश्वकप स्टेडियम निर्माण गर्ने क्रममा १४ सय नेपालीको मृत्यु भएको खुलासा गरेको थियो । रंगशाला निर्माणमा त्यहाँको सरकारले सुरक्षा तथा आवश्यक प्रविधि प्रयोग नगर्दा नेपालीहरुको मृत्यु भएको डकुमेन्ट्रीमा बताइएको छ । डकुमेन्ट्रीका अनुसार ५ सय २२ जना नेपालीको हृदयाघातबाट मृत्यु भएको छ।