विदेशबाट फर्किने लाई होटेलमा १० दिन क्वारेन्टिन बस्दा प्रतिव्यक्ति ६५ हजार ठगी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ असार ।

सरकारले तोकेको मूल्यअनुसार तीनतारे होटेलमा १० दिन क्वारेन्टिन बस्दा ३५ हजार तिर्नुपर्छ । तर, हिमालय एयरलाइन्सले साउदीबाट फर्किने श्रमिकलाई गौशालास्थित होटेल आमादब्लममा राखेर एक लाख उठाइरहेको छ ।

सरकारले विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न पाँचतारेदेखि पर्यटकस्तरीयसम्मका गरेर एक सय १० वटा होटेल तोकेको छ । होटेल हेरेर न्यूनतम एक हजार पाँच सयदेखि अधिकतम ६ हजार पाँच सय रुपैयाँसम्म मूल्य तोकिएको थियो ।

१० दिन होटेल क्वारेन्टिनमा बस्दा न्यूनतम १५ हजार तिरे पुग्छ । तीनतारे होटेलमा बसेको प्रतिव्यक्ति तीन हजार पाँच सय मूल्य तोकिएको थियो । त्यसअनुसार १० दिन तीनतारे होटेलमा क्वारेन्टिन बस्दा ३५ हजार तिर्नुपर्छ । यो रकममा तीन छाक खानासमेत खान दिनुपर्छ ।

तर, हिमालयले साउदीबाट आएका नेपालीलाई यती समूहकै लगानी रहेको सिनामंगलस्थित तीनतारे होटेल आमादब्लममा राखेर प्रतिव्यक्ति ६५ हजार रुपैयाँभन्दा बढी ठगी गरिरहेको छ । क्वारेन्टिनबापत मात्रै एक लाख रुपैयाँ उठाइरहेको छ ।

मंगलबारदेखि सरकारले होटेलको वर्गीकरणअनुसार होटेल बस्दा लाग्ने शुल्कलाई हटाएको छ । यो निर्णयसँगै होटेलहरूले आफूखुसी रकम लिन पाउनेछन् । ‘सरकारले होटेलको शुल्क तोक्दा राम्रो सन्देश नजाने देखेर अहिले मूल्य हटाएका छौँ,’ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने ।

त्यस्तै, साउदी जानेहरू तीनतारे होटेलमा सात दिन क्वारेन्टिन बस्दा ४० देखि ५० हजार रुपैयाँको हाराहारी खर्च हुन्छ । तर, हिमालयले एक लाख ९० हजारमध्ये एक लाख रुपैयाँ क्वारेन्टिनका लागि भन्दै असुल्ने गरेको एक ट्राभल एजेन्टले बताए । साउदी जान कामदारले मेनपावर एजेन्सीलाई थप एक लाख रुपैयाँ बुझाउनुपर्छ । यसरी श्रमिकहरू साउदी पुग्नका लागि तीन लाखसम्म बुझाउन बाध्य छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाका अध्यक्ष तेजबहादुर थापाले हिमालय एयरलाइन्सले नेपाली श्रमिकमाथि चर्को शोषण गरिरहेको बताए । ‘कोभिड– १९ को महामारीका कारण आपत्मा परेका नेपालीलाई उद्धार गरेर ल्याउनु त कता हो कता उनीहरूले साउदीमा कमाउने सात महिनाबराबरको रकम हिमालय एयरलाइन्सले हवाई

टिकटकै नाममा असुली गरिरहको छ, यो त अत्याचार नै भएको छ,’ उनले भने । यस विषयमा एनआरएनएले साउदीस्थित नेपाली दूतावासमा उजुरी गरेको पनि उनले बताए । साउदी अरेबियामा जाने नेपालीको औसत तलब ३० हजार रुपैयाँ हुने गर्छ । आजको नयापत्रीका मा यो खबर छपिएको छ

FacebookTwitterEmailShare