कतारले नयाँ यात्रा नीति जारी गर्‍यो, यस्तो छ नयाँ नियम !

हाम्रो सन्देश संवाददाता

दोहा, २५ असार ।

कतारले नयाँ यात्रा नीति जारी गरेको छ । नयाँ मापदण्ड अनुसार कोभिड–१९ विरुद्धको दुवै खोपको मात्रा लगाएका नेपालीलगायत विदेशी नागरिकले कतार प्रवेश गरेपछि क्वारेन्टाइन बस्नु पर्नेछैन।

यो नियम १२ जुलाइबाट लागू हुनेछ । कतारले फाइजर, मोर्डेना, जोन्सोन एण्ड जोन्सन, एस्ट्राजेनिका खोपलाई मान्यता दिएको छ । यीमध्ये कुनै पनि खोप लगाएका व्यक्ति क्वारेन्टाइनमा बस्नु पर्देन । खोप लगाएको अवधि १४ दिन पुगेको हुनेपर्नेछ ।

कतार प्रवेश गर्नुअघि ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ । त्यस्तै फर्किनुपूर्व १२ घण्टाअघि ‘एह्तेराज एप’मा आफ्नो यात्रा रजिस्टर गर्नुपर्नेछ ।

अब फेरि कतारले ९ जुलाइ शुक्रबारदेखि लागू हुनेगरी प्रतिबन्धलाई थप खुकुलो बनाउने घोषणा गरेको छ।

कतारको स्वास्थ्य मन्त्रालय र विपद् व्यवस्थापनको लागि सुप्रिम कमिटीले प्रस्तुत गरेको प्रतिवेदनको समीक्षा गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल–थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो चरणमा प्रतिबन्ध खुल्ला गर्ने निर्णयको अनुमोदन गरेको हो।

तेस्रो चरणमा प्रतिबन्ध खुकुलो बनाएसँगै अब विवाह समारोह व्यापक उपस्थितिको साथमा पनि गर्न सकिने छ। त्यसैगरी मेट्रो ट्रेन र सार्वजनिक बसमा अझ धेरै मानिसहरू यात्रा गर्न सक्नेछन्।

त्यस्तै, अबदेखि बच्चाहरु पनि थिएटर र स्युकहरुमा प्रवेश पाउनेछन्।

यात्रा तथा रिटर्न सम्बन्धी नीति र क्वारेन्टाइनका शर्त सम्बन्धी व्यवस्था पछि घोषणा गरिने बताइएको छ।