डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुद्रमा बेपत्ता

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ असार ।

क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् ।

अवैद्य ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।

अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो ।

डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम/ठेगाना खुलेको छैन ।