हिमालय एयरलाइन्सको अनलाइन टिकट सेवा।

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ असार ।

नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सुरू गरेको छ । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकले आवश्यकताअनुसार एयरलाइन्सको वेबसाइटबाट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

हाल उक्त सेवा प्रारम्भिक चरणमा रहेकाले कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई-टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरण सुविधा पनि लिन सक्ने एयरलाइन्सले जनाएको छ ।

अन्य सहायक सेवा ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानीलगायतका सेवा पनि छिट्टै सुरु गरिने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण सरकारले नियमितरूपमा उडान हुने गन्तव्यमा उडान बन्द गरेर सीमित मुलुकमा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । एयरलाइन्सले हाल अबुधाबी, बेइजिङ, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुरलगायत नौ गन्तव्यमा उडान गर्दै आएको छ । एयरलाइन्स निकट भविष्यमै ल्हासालगायत दक्षिण एसियाका अन्य प्रमुख सहरमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।