एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स बिघटनको तयारीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ असार ।

सरकार देशको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स बिघटनको तयारीमा लागेको भन्दै बिरोध सुरु भएको छ । सरकारले गुपचुप रुपमा यस्तो कार्य गर्न लागेको बताइएको छ । नीजि क्षेत्रलाई फाइदा पुग्ने गरि सरकारको यस्तो निर्णय आउन लागेको हो ।

पत्रकार हरिबहादुर थापा एक अनलाईनको सम्पादकीय सेयर गर्दै ट्वीटरमा लेख्छन्, नेपाल वायुसेवा निगम विघटन गर्ने ‘भूमिगत खेल’ अनौठो तरिकाले रातारात अघि बढ्यो, त्यो पनि सरकार चरम सं क्र म ण कालमा रहँदाको अवस्थामा । कहीँ कतै अत्तोपत्तो नदिई ‘भूमिगत शैली’मै ‘प्रबन्धपत्र’समेत बन्‍नु आफैँमा रहस्यमय छ ।

यस्तै यस्तो कार्यको पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायत नेताहरुले पनि सरकारको यस कार्यको बिरोध गरेका छन् । इकागजमा छापिएको एक समाचार अनुसार, निगम विघटन गरी उक्त कम्पनी स्थापना गर्ने प्रयोजनका प्रबन्धपत्र र नियमावली हतारहतारमा ४८ घण्टामै तयार भएका थिए । मस्यौदा बनाउन निगम सञ्चालक समितिका सदस्य किशोरकुमार प्रधानको संयोजकत्वमा तीन सदस्यीय उपसमिति बनाइएको थियो । उपसमितिमा अर्का सञ्चालकद्वय ईश्वरी पौडेल र फुर गेल्जे शेर्पा थिए ।

निगमको सञ्चालक समितिले मस्यौदा उपसमिति गठन गर्ने निर्णय असार १० गते गरेको थियो । असार १३ गते उक्त उपसमितिले प्रबन्धपत्र र नियमावली तयार गरी सञ्चालक समितिलाई बुझाएको पाइएको छ । यति ठूलो निर्णय गर्दा निगमका अन्य कर्मचारी तथा आधिकारिक ट्रेड युनियनहरूबीच छलफलसमेत नगरी गुपचुपमा पारित गरिएको दावी इकागजको समाचारमा गरिएको छ ।