नेपाल र ओलीको इगो नै एमाले एकताको बाधक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ असार ।

सत्तारुढ दल नेकपा एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रुपमा देखिएको छ ।

यद्यपि वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आईतवार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । नेपालले आईतवार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुबै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन् । हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन् ।

तर इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुपर्‍यो । उनीहरु अध्यक्ष ओलीलाई २०७५ जेठ २ गतेमा फर्काउन सफल भए । उनीहरुकै प्रयासमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो । वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भएको थियो ।

अध्यक्ष ओली लचिलो बने । वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन् । नेपालले बिहीवार राति अध्यक्ष ओलीले गरेको फोन अरु नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन् । फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन् ।

यी २ शीर्ष नेताबीच शनिवार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो । आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन् ।

उपाध्यक्ष बामदेव गौतमले ओली र नेपालबीचको रिसईबी गहिरो रहेको बताए । राष्ट्रियसभा बैठकपछि उपाध्यक्ष गौतमले ओली र नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताए । २ शीर्ष नेताको रिस उनीहरु मातहत रहेका नेताको चिन्ताले घटाउन नसक्ने गौतमको भनाइ छ ।

ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुबै गुटका युवा नेतातर्फ लक्ष्य गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रष्ट पारेका छन् ।

‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीसँग । केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनुभएको छ,’ गौतमले भने, ‘२ जनाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले पनि काम गर्दैन ।’

गौतमले अहिले आफू दुबै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए । ‘म २ जनाकै रिसलाई कसरी शिथिल बनाउन सकिन्छ ? हो त्यतातिर लागिराखेको छु,’ गौतमले भने ।

गौतमले रिस शिथिल भएपछि एकता हुने विश्वास व्यक्त गरेका छन् । सँगै उनले एकता २ नेताको रिसका कारण अहिले सम्भव नभएको तर सर्वोच्च अदालतको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रष्ट पारेका छन् ।

‘अहिले एकता सम्भव नहोला,’ उनले भने, ‘सर्वोच्च अदालतको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ ।’ उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गरेको बताए । प्रधानमन्त्री ओलीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको नेता पौडेलको भनाइ रहेको छ । पौडेल आईतवार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।

पौडेलले आफूले समस्या समाधानका लागि २ नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताए । उनले भने, ‘माधव कमरेड कहाँ गएका थियौं म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं भन्यौं ।

हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्, तपाईंहरु एकआपसमा बस्नुहोस् भन्यौं । उहाँले खास गरिकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौं ।’

उपमहासचिव पौडेल, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलले आईतवार बिहान वरिष्ठ नेता नेपाल निवासमै नै पुगेर एकताको सन्देश दिन सयुक्त वक्तव्य निकाल्न प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए ।

‘ठीकै छ । कार्यदल छ, त्यसैलाई ब्युँत्याउँदा भइहाल्छ । तपाईंहरुले नै प्रस्ताव तयार पारेर ल्याउनुस्’ भन्दै भेटेर वार्ता गर्ने विषयमा खासै चासो नदिएको एक नेताले बताए । पौडेल, नेम्वाङ, र पोखरेलको साथमा नेपाल पक्षका नेता घनश्याम भुसाल समेत कोटेश्वरको छलफलमा सहभागी भएका थिए ।

नेपाल पक्षका नेता एवं पार्टी सचिव गोकर्ण विष्टले २ नेताको इगो र टकरावले एकताका समस्या हुन नहुने बताए । ‘उहाँहरुबीचमा केही टकराव र इगो देखिएको छ । कतिपय अवस्थामा यो इगो र टकरावले पार्टी एकता नहुन महत्त्वपूर्ण कारक बनिरहेको छ,’ नेता विष्टले भने, ‘लगभग अन्तिम अवस्थामा पुगेको थियो । एक पक्षीय बैठक बसेर एकतर्फी निर्णय भएपछि केही समस्या भएको छ । तर छलफल जारी छ, म आशावादी छु ।’

मध्यमार्गी नेताहरु ओली र नेपाल दुबै केही लचिलो हुँदै गएको बताउँछन् । ओली जेठ २ गतेको अवस्था फर्किनु र नेपाल नयाँ पार्टी खोल्ने अभियान रोकिनु उपलब्धि भएको उनीहरुको भनाइ छ । शीर्ष नेताको इगो, रिस, टकराव र अन्तरविरोधका बाबजुत पनि एकताको विकल्प नरहेको उनीहरुको भनाइ रहेको छ ।
नेपाल पक्षका नेता निरज आचार्यले एकताको प्रयास जारी नै रहेको बताएका छन् । मुख्य समस्या २ नेताबीचको इगो नै भएको नेता आचार्यको ठम्याइ रहेको छ ।
नेपालले आफूनिकट नेतारकार्यकर्तालाई मान्छे भड्किने अभिव्यक्ति नदिन निर्देशन दिए । पार्टी एकताविरुद्ध कडा अभिव्यक्ति दिइरहेका जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राईलगायत नेतालाई फोन गरेर उनले संयमित अभिव्यक्ति दिन सम्झाएका छन् ।

पार्टी एकताका लागि निरन्तर लागि रहेका उपमहासिचव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायत नेताको भूमिकालाई लिएर नेपाल पक्षकै अतिवादी नेताले आक्षेप लगाउँदै आएका थिए । केन्द्रीय कमिटी बैठकले सोमवार ५ बजेसम्म अदालतको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको थियो । नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने अडान लिँदै आएका छन् ।