जुलाई महिनाको लागी उडान तालिका सार्वजनिक, कुन देशमा कति उडान

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० असार ।

सरकारले बिहीबार (आज)बाट सुरु भएको जुलाई महिनाभरका लागि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि आगामी ३१ जुलाईसम्मका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । पछिल्लो समय स्वदेशमा मात्र नभएर संसारभर कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएसँगै प्राधिकरणले प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान भर्नेगरी नयाँ उडान तालिका स्वीकृत गरेको छ । यो तालिका पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको हवाई उडान स्वीकृतिका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ ।
मन्त्रिपरिषद्को निणर्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम हाल प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकेर नियमित अन्तर्राष्ट्रिय उडान खोलेको छ । अझै दक्षिण कोरिया र चीनबाट भने सम्बन्धित वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । यी मुलुकबाहेक अन्य गन्तव्य मुलुकमा सातामा कुल २१ वटा अन्तर्राष्ट्रिय उडानको अनुमति दिइएको छ । यसरी अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।

स्वदेशी वायुसेवा कम्पनीका विमान नजाने गन्तव्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । हाल कोरिया, टर्की, कुवेत र ओमान स्वदेशी वायुसेवा कम्पनीको विमान नजाने गन्तव्य मुलुक हुन् । हाल नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौंबाट भारतको नयाँ दिल्ली, कतारको दोहा, यूएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा सीधा उडान भर्नेछ । यसैगरी, अर्को स्वदेशी निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट साउदी अरेबियाको दमाम, यूएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान भर्ने अनुमति पाएको छ ।

यस नयाँ उडान तालिकाअनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउने विदेशी वायुसेवा कम्पनीमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाई दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले आगामी ३१ जुलाईसम्मका लागि स्वीकृत उडान सम्बन्धित वायुसेवा कम्पनीले कोरोना महामारीबीच हवाई उडानमा अपनाउनुपर्ने सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पु-याएर उडान भर्ने सर्तसहित माग गरेअनुरूप स्वीकृत भई उडान तालिका सार्वजनिक गरिएको बताए ।

यसैगरी, प्राधिकरणले बिहीबारदेखि नै लागूू हुनेगरी नियमित आन्तरिक हवाई उडान सञ्चालनको अनुमति दिएको छ । सोहीअनुरूप सम्बन्धित वायुसेवाका विमानले बिहीबार बिहानैदेखि नियमित आन्तरिक हवाई उडान भर्नेछन् । हाललाई सरकारले साबिकको तुलनामा ५० प्रतिशतभन्दा नबढाउने गरी आन्तरिक उडान भर्ने अनुमित दिएको छ । यस अनुमतिअनुसार उडान स्वीकृत पाएका सम्बन्धित वायुसेवाका विमानले दैनिक जम्मा ६४ वटा मात्र उडान भर्न पाउनेछन् । मधुजंग पाण्डे/ राजधानी दैनिक