सुनसरी, १९ असार ।
लगातारको वर्षाका कारण सँगै सप्तकोसी नदीको बहाव बढेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक रहेको शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको र रातभरमा पानीको बहाव २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको कोशीमा बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
पानीको बहाव बढे संगै कोशी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधरणलाई सतर्क रहन आग्रह गरिएको छ ।