खाडि मुलुक रोजगारीमा जानेलाई कोरोना खोप दिइने, यस्तो छ सरकारको तयारी !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ असार ।

एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। छुट्टीमा नेपाल आएका बैदेशिक रोजगारका कामदारहरु पनि पुनः काममा फर्कनको लागि उक्त देश जान सकिरहेका छैनन् , त्यसको एउटा मात्रै कारण भनेको कोरोना बिरुद्धको खोप हो ।

नेपालमा कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो भने नेपालमै रोकिएका बैदेशिक रोजगारका कामदारहरु आफ्नो कर्म थलो फर्कने आशा गरिरहेका बेला गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।

हालसम्म संयुक्त अरब इमिरेट्स र कुवेतले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् भने, साउदी अरेबिया, ओमान, बहराइन पनि सोही बाटोमा अघि बढेको व्यवसायीले बताएका छन्। नेपालको ठूलो गन्तव्य मलेसियाले डेढ वर्षदेखि नेपाली श्रमिक लिएको छैन। सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्दा लामो समयदेखि बेरोजगार भएका युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भइरहेको म्यानपावर व्यवसायी बताउँछन्।

तर अब भने खोपको समस्या समाधान हुने अपेक्षा लिइएको छ । नेपालले छिमेकी राष्ट्र चिन संग ४० लाख डोज भ्याक्सिन सम्झौता गरिसकेको छ भने पहिलो खेप यहि बिहीवार सम्ममा ल्याउने भएको छ । उता प्रधानमन्त्री केपि शर्मा ओलिले समेत अब एक दुई दिनमा कोरोना बिरुद्धको खोप नेपाल आउन सुरु हुने सबैमा कोरोना बिरुद्धको खोप लगाइने उद्घोष गरिसकेका छन् ।

प्रधानमन्त्रीको घोषणा र चिन संगको सम्झौतालाई आधार मानेर वैदेशिक रोजगारमा जाने नेपालीकामदारको लागि खोपको प्राथमिकतामा राखिने अड्कल गरिएको छ ।
स्रोतका अनुसार बैदेशिक रोजगारीमा जाने कामदारको लागि पहिलो प्राथमिकतामा राख्ने कुरो छ , खोपकै कारण रोजगारी गुम्ने खतरा छ ।

यदि त्यसो भएमा आगामी केही हप्तामा नै बैदेशिक रोजगारमा जाने वा छुट्टि मनाउन आएका कामदारले खोप पाउने सम्भावना बढेको जानकारहरु बताउछन् ।