आजदेखी भिसा सेवा सुरु, नागरिकले असार २४ भित्र भिसा नि:शुल्क नियम

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १८ असार ।

अध्यागमन विभागले आजदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ देखि सुरु हुने विभागले जनाएको हो ।

गएको बैशाख १५ अर्थात् अप्रिल २८ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ भित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ ।

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गरिने पनि विभागले जनाएको छ ।तर असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियम अनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिबाना लाग्नेछ ।