यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा लगायो प्रतिबन्ध

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १८ असार ।

नेपालसहित १४ देशमा यात्रा गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ। यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका

दृष्टिले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि नेपाल, भारतसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा रोक लगाएको हो।

यस्तै यूएईको यी १४ मुलुकबाहेक अन्य देशको भ्रमणमा जाँदा आफ्ना नागरिकलाई अनिवार्य रूपमा कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन विदेश मन्त्रालयले आग्रह गरेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खस्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।