नेपाल फर्कने श्रमिकहरुलाई युएईमा रहेको नेपाली दुताबासको सुचना

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

युएईको आबुधाबीमा रहेको नेपाली राजदुताबासले युएई बाट नेपालको लागी हुने उडानहरु बारे जानकारीहरु दिंदै एक सुचना प्रकाशित गरेको छ । आज जुन ३० मा एक सुचना प्रकाशित गर्दै दुताबासले आबुधाबी र दुबई बाट काठमाडौँ रुटमा हुने उडान मार्फत नेपाल फर्कने यात्रुहरुको लागी नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड बारे जानकारी दिएको हो । विदेशमा सम’स्यामा परेका नेपाली श्रमिकहरुलाई घर फर्काउने उद्देश्यले सरकारले युएई लगायत मुलुकहरुमा सिमित संख्यामा उडान सुचारु गरेको छ ।

युएईको आबुधाबी, सारजाह र दुबई देखि काठमाण्डौको लागि विभिन्न मितिमा उडानहरु निर्धारण भएको दुताबासले जानकारी दिएको छ । यात्रुले नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट हुनुपर्ने दुताबासले सुचनामा जनाएको छ । त्यस्तै होटलहरुमा ७ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग गरेको प्रमाण पनि अनिवार्यरुपमा हुनुपर्ने जनाईएको छ । दुताबासले जारी गरेको सुचना यस्तो छ ।

विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

फोटो एवं Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर) घण्टाभित्रको कोभिड-१९ पि. सी. आर. (PCR) परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने।
कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम यो लिङ्क मा उपलब्ध छ।
यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको विवरण दूतावासको वेबसाइटमा राखिएको छ। हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला ।

कोभिड-१९ विरुद्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व-क्वारेन्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने।
अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने।
अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइने।

त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।
माथि बुँदा नं. ५, ६ र ७ को प्रावधानबमोजिम होम-क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने। Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आइ होम-क्वारेन्टिनमा गएका यात्रुहरूले एघारैँ दिनमा पिसिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।
विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८’ को पूर्ण पाठ यँहा क्लिक गरेर हेर्न सक्नुहुनेछ । नेपाली राजदूतावास