कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायधिशलाई धम्काइरहेकोे आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ असार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायधिशलाई धम्काइरहेकोे आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा देउवाले न्यायाधीशहरुलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताउनुभयो ।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दावी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकेमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गर्नुभयो । त्यस्तै उहाले छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गर्नुभयो । देउवाले कमिसनका कारण कोरोनाको खोप नआएको ठोकुवा पनि गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओली अहिलेको प्रमुख समस्या रहेको बताउनुभयो । ओलीप्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको भन्दै उहाले त्यसका विरुद्ध एकसाथ रहेको धारणा राख्नुभयो ।

आफू कहिले यता र कहिले उता हुनुमा आफ्नो कमजोरी भएपनि यसमा मूलभुत रुपमा कसको हात छ भनेर बुझ्नसमेत आग्रह गर्नुभयो । त्यस्तै एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको बताउनुभयो ।

व्यक्ति चयन गर्दा पनि सुशासन कायम नभएको भन्दै अबका दिनमा व्यक्ति चयनबारे ध्यान दिनुपर्ने उहाले बताउनुभयो । उहाले ओली जेष्ठ २ गते फर्कन तयार भएपनि कुनै पनि अवस्थामा आफूले भने मूल्य–मान्यताको राजनीति नछाड्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतान्त्रीक मूल्य र मान्यतालाई जोगाउन र संस्थागत गर्नका लागि गठबन्धनलाई थप मजबुद बनाएर लैजाने धारणा राख्नुभयो ।