माधव नेपाललाई किन प्रधानमन्त्री प्रस्ताव गर्ने, मलाई बहुला कुकुरले टोकेको छ र ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीका नेता नेपालमाथि अशोभनीय टिप्पणी समेत गरेका छन् ।

मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’ माधव नेपालले आफैँले आफ्नो मत्ता बढाएको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता भएको टिप्पणी गरे । माधव नेपाल दाहालको पुच्छर भएको भन्दै कटाक्ष गरेका ओलीले दाहालले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाए ।

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ ओलीले एमाले नेता माधव नेपाललाई लाजसरम पचेको मान्छे भनेर टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि त हुन्छ ।’

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले नेकपा नेता नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछि लागेको टिप्पणी गरेका छन् । ओलीले नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी नागरिक माझ झुटको राजनीति गरेको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफैँ भन्दै हिँडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेरबहादुर देउवाप्रति यति समर्पित छु । म देशलाई, पार्टीलाई, नागरिकलाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टीमै जान पनि सक्छन् । कार्यकर्ता भएर हिँडेका छन् । प्रचण्डको पार्टीमा त उनलाई जानु नै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । केही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैँ आफ्नो महत्त्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गरे । नेता नेपालले कम्युनिस्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पछि लागेको ओलीको भनाइ छ । उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रूपमा हुने गरेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरूले आफ्ना कार्यकर्तालाई विचार बोक्न नभइ स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गरे ।

यस्तै प्रधानमन्त्री ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरि सिद्धान्तको पक्षपोषण गरेको बताएका छन् । ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्त्व बढी हुन थालेको उल्लेख गर्दै आफूहरू मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने जनाए ।

उनले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्दा ममिलामा समेत धाउनेहरूले लोकतन्त्र र देशको स्थिरतालाई खतरामा पार्ने स्थिति आएको पनि बताए ।

‘उहाँहरू लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसद्लाई नागरिकको काम गर्ने थलो नबनाइ पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर चुनाव तय भएपछि चुनावको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ’, ओलीले भने, ‘जननेता मदन भण्डारीको विचारसँग यी कामहरू कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरू विचारबाट पतित भएका छन् ।’

प्रधानमन्त्री ओलीले संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई संसदीय गतिविधिभन्दा अन्य काम (विपक्षी दल र नागरिक समाजको भेटघाट आदि) जस्ता गलत काममा प्रयोग गरिएकामा पनि असन्तुष्टि व्यक्त गरे । यसैगरी प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन् । उनले कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको दाबी गरे ।

कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले भने, ‘नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो । उसै त अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अँगालेपछि, त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्टि जनाए । उनले भने, आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अभिवक्ताज्यूहरू तपाईँहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नु हुँदैन ?