कोटा तोकेर अन्तर्राष्ट्रिय हवाई उडान खुला, मलेसियामा हप्तामा चार उडान

हाम्रो सन्देश संवाददाता

काठमाडौं :
नेपाल सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले तय गरेको कोटा क्रमशः निम्न प्रकारको रहेको छ :

–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई गरी हप्तामा चार उडान हुनेछ ।

–काठमाडौँ–इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २ उडान हुनेछ ।
–काठमाडौँ–दुबई रुटमा नेपाली वायुसेवाको २ उडान र संयुक्त अरब इमिरेट्सबाट सम्बन्धित मुलुकको वायुसेवाको २ गरी हप्ताको चार उडान हुनेछ ।

–काठमाडौँ–दमाम रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ ।

–काठमाडौँ–कुवेत सिटी रुटमा कुवेतको वायुसेवाको हप्तामा २ उडान हुनेछ ।

–काठमाडौँ–मस्कट रुटमा ओमानको वायुसेवाको हप्तामा १ उडान हुनेछ ।

–काठमाडौँ–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ र मलेसियाको वायुसेवाको २ गरी हप्तामा ४ उडान हुनेछ ।

– काठमाडौँ–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान हुनेछ ।

– काठमाडौँ–टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ उडान हुनेछ ।

– काठमाडौँ–छेन्दु र काठमाडौँ–ग्वानझाओ रुटमा नेपाली वायुसेवाको १–१ र चीनको वायु सेवाको १–१ गरी हप्तामा २–२ उडान हुनेछ ।