निषेधाज्ञाबीच पनि १३ हजार हवाईयात्रु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असार ।

जेठ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ हजार हवाईयात्रुले सेवा लिएका छन् । त्यस्तै सो अवधिमा २३ वटा कार्गो सेवा प्रदान गरिएको विमानस्थल कार्यालयले जनाएको छ । जेठमा काठमाडौैंबाट विदेशिने हवाईयात्रु आठ हजार ६९ र भित्रने यात्रु २७ सय रहेको छ ।

सो अवधिमा अन्तर्राष्ट्रिय वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ लाख ५५ हजार केजी कार्गो सेवा दिएको छ । कार्गो सेवाअन्तर्गत १७ लाख १३ हजार केजी भित्रिएको छ भने चार लाख ४१ हजार केजी कार्गो बाहिरिएको छ । जेठमा आन्तरिक वायुसेवाले पनि दुई हजार सात सय ९३ यात्रुलाई सेवा दिएका छन् ।

आन्तरिक उडानबाट विभिन्न गन्तव्यमा जाने यात्रु आठ सय ३५ र भित्रिने एक हजार नौ सय ५८ रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ । सो अवधिमा आन्तरिक उडानबाट एक लाख २१ हजार कार्गो सेवा दिइएको छ । काठमाडौंबाट ९९ हजार केजी कार्गो बाहिरिएको छ भने २२ हजार केजी कार्गो भित्रिएको छ ।