काठमाडौं–साउदी उडानमा कमिसनको खेलः श्रमिकको ढाड सेकिदै (यस्तो भाडादर)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ असार ।

सरकाले अन्तर्राष्ट्रिय उडान बन्द गरेको दुई महिना पुग्न थालेको छ। यसबीच विदेशमा समस्यामा परेका नेपाली श्रमिकको अवस्था कस्टकर बन्दै गएपछि सरकारले केही देशमा नियमित उडान भन्दै सिमित संख्यामा जहाजलाई उडानका लागि अनुमति पनि दियो।

तर, श्रमिकको सहजताका लागि भन्दै उडाइएका नियमित उडान उल्टै उनीहरूको ढाड सेक्ने मेलो बनेको छ। यसको ज्वलन्त उदारण हो, साउदी–काठमाडौं उडान।

सरकारले नियमित उडान भनेपनि भाडा दर चार्टर उडानभन्दा महंगो भएपछि साउदीमा रहेका नेपाली आक्रोसित बन्न थालेका छन्।

उडान ठप्प हुँदा साउदीमा रोजगारी गुमाएका, भिसाको म्याद सकिएका, अवैधानिक हैसियतमा बस्नुपर्दा तिर्नु परेको जरिवानाले थुप्रै नेपाली पहिलेदेखि नै प्रभावित बनेका छन्। यसमा पनि उद्धारका नाममा श्रमिकको ढाड सेक्ने गरि टिकटको दाम उठाउन थालेपछि उनीहरूको बिजोग हुन थालेको छ।

रोजगारी गुमाएका थुप्रै नेपाली श्रमिक आम्दानी नहुँदा समस्यामा छन्। उनीहरूलाई यतिबेला खान–बस्नकै समस्या हुन् थालेको छ।

उसै पनि साउदीबाट फर्किन अन्य देश जस्तो सहज छैन। साउदीबाट बाहिरिदा ‘एक्जीट परमिट’ लिनुपर्ने बाध्यकारी नियम छ। यो ‘परमिट’ को म्याद थोरै समयको लागि मात्र हुन्छ। ‘परमिट’ लिएका कतिपयको हकमा म्याद समाप्त भइसकेको छ भने केहीको सकिने क्रममा छ।

पराइ मुलुकमा समस्यामा परेका आफ्नै देशका नागरिकसँग पिडा साट्नुको सट्टा सरकार लुटमा उत्रिएको पिडितहरूको गुनासो छ।

उडान प्रतिबन्धकै बीच साउदीको दम्मामबाट हाल हिमालय एयरलाइन्सका २ जहाजले काठमाडौं उडान गरेका छन्। आजै (सोमबार) हिमालयकै अर्काे उडान हुँदैछ। यो बाहेक २४ र २९ जुनमा हिमालयकै थप २ उडान तय भएको छ।

साउदीका लागि सरकारले विदेशी एयरलाइन्स जजिरालाई पनि उडान अनुमति दिएको छ। साउदी अरबमा रहेका जजिरा एयरका नेपाली प्रतिनिधिले श्रमिकसँग चर्काे भाडा लिएर टिकट बेचेको नेपाली श्रमिकले प्रवास खबरलाई बताएका छन्।

जजिराले २० जुनमा उडान हुने भन्दै टिकट बेचेको थियो। तर, त्यो दिन उडान नभएको पिडित श्रमिकको भनाइ छ।

नियमित उडान भन्दै जहाज उडाइरहेको हिमालयले साउदीबाट काठमाडौं आउने प्रति यात्रु २४ सयदेखि २८ सय रियालसम्म भाडा उठाइरहेको छ। काठमाडौंबाट साउदी जाने यात्रुबाट डेढ लाखदेखि २ लाखसम्म असुल गरेको श्रमिकहरूको दावी छ।

साउदीबाट फर्किनुपूर्व त्यहाँ गरिने पीसीआर परीक्षण श्रमिक आफैले गनुपर्ने हुन्छ। नेपाल आइपुगेपछि पनि आफ्नै खर्चमा होटलमा क्वारेन्टाइन बस्नुपर्ने नियम छ। नेपालमा गरिने पीसीआर परीक्षणको शुल्क पनि श्रमिक स्वयम्ले व्योहोर्नु पर्ने सरकारी नियम छ।

यसरी सरकारले उद्धारको नाममा श्रमिकको ढाड सेकिरहेको एनआरएनए आइसीसी सदस्य रमेश भण्डारी बताउँछन्। ‘सरकारले नियमित उडानको नाममा व्यापार गर्न खोजेको देखिन्छ। श्रमिकको समस्याप्रति सरकार संवेदनशील हुनुको सट्टा उल्टै ढाड सेकिरहेको छ,’ साउदीमा रहेका आइसीसी सदस्य भण्डारीले आक्रोश पोख्दै भने, ‘पैसा अभावका कारण धेरैको ‘एक्जीट भिसा’ को म्याद सकिएको छ। त्यसलाई पुनः रिन्यू गर्न १ हजार रियाल पेनाल्टी तिर्नुपर्छ। श्रमिकको यो समस्या कसले बुझ्ने?’

मंहगो टिकटका कारण अड्किएका श्रमिक

सप्तरीका शम्भुलाल दासलाई एजेण्टले आकर्षक तलबको प्रलोभन देखाएर साउदी पुर्याएका थिए। १५ सय साउदी रियाल तलब भनेर पठाए पनि त्यहाँ पुगेर उनले त्यसको आधा तलब पनि पाएनन्। भनेजस्तो नभएपछि उनी उतिबेलै स्वदेश फर्किन चाहान्थे। तर, फर्किन सहज भएन। कम्पनीले पठाउन मानेन। जर्बजस्ती भिसा लगाइदियो। जेनतेन उनी साउदीको तावुकमा ७ सय रियालमा काम गर्न बाध्य भए।

पछिल्लो समय कम्पनी उनलाई घर पठाउन तयार थियो। तर, उडान बन्द हुँदा उनी त्यसको चपेटामा परेका छन्। ‘मेरो त बिजोग अवस्था भयो,’ दासले प्रवास खबरसँग आफ्नो समस्या सुनाए।

घर नफर्किनहुने भएपछि जसोतसो उनले चर्काे भाडा तिरेर एक हप्ताअघि जजिरा एयरलाइन्सको टिकट किनेका थिए। जजिरा एयरकै नेपाली प्रतिनिधिले उनलाई २० जुन बेलुका ४ बजे उडान हुने भनेर टिकट बेचेका थिए। तर, ती प्रतिनिधिले भनेजस्तो आइतबार जजिराको उडान भएन।

ती प्रतिनिधिले उडान स्थगीत किन भयो भन्ने बारेमा आफूलाई जानकारी नदिएको उनी बताउँछन्। अहिले उडानको टुंगो लागिसकेको छैन। यसैले उनको अन्यौलता थप बढाएको छ।

शम्भुलाल जस्तै सुनसरीका सन्तोष पौडेल पनि महंगो टिकटका कारण घर फर्किन सकेका छैनन्। उनी बिरामी साथी अर्जुन बिकलाई आफूसँगै नेपाल ल्याउने तयारीमा थिए। तर, टिकट किन्न नसकेपछि उनको देश फर्किने सपना तुहिएको छ।
‘टिकट २८५० रियाल पर्छ भनेको छ। एकतर्फी उडानको लागि त्यत्ति धेरै पैसा कसरी तिर्ने?’ उनले गुनासो पोखे।

उनी तीन महिनाको बिदा लिएर नेपाल फर्किने तयारीमा थिए। यसका लागि कम्पनीबाट बिदा पनि स्वीकृत भइसकेको थियो। तीन महिनाका लागि बिदा लिएका उनी दुई महिना बितिसक्दा पनि नेपाल फर्किन सकेका छैनन्।

‘यसलाई कसरी उद्दार भनिन्छ? हामी जस्ता श्रमिकसँग यति मोटो रकम असुलिएको छ। हामीसँग उता पनि पीसीआरको रकम लिने गरिन्छ। यता घर फर्किदा पनि पीसीआरको नाममा पैसा उठाइएको छ। यसले हामी दोहोरो मारमा छौं। थप होटलको क्वारेन्टाइनमा पैसा तिर्नुपर्दा कति आर्थिक कठिनाइ होला, सरकारले बुझ्नुपर्ने कुरा होइन र,’ पौडेलले भने।

यस्तै, प्युठानका छवीलाल बुढा क्षेत्रीको पनि समस्या उस्तै छ। उनी दुई महिनाअघि कम्पनीसँग भिसा स्थगीत गराएर नेपाल फर्किने बाटो कुरेर बसेका छन्। तर, टिकट महंगो हुँदा आपतमा परेका छन्। ‘एकतर्फी भाडाको २९५० रियाल भन्छन्। यो त सरासर लुट हो। कसरी तिर्ने? काम नहुँदा उल्टै समस्यामा छु,’ उनले भने।

यस विषयमा एनआरएन साउदीलगायत अधिकांश नेपाली संघसंस्थाले विरोध जनाएका छन्। एनआरएनए साउदीले हालै विज्ञप्ती प्रकासित गर्दै सरकारलाई नियमित उडानका नाममा भइरहेको ब्रम्हलुट रोक्न आग्रह गरेको छ। उसले सरकारलाई यथाशिघ्र नियमित व्यवसायिक उडान सञ्चालन गर्न अनुरोध गरेको छ।