खुकुलो बन्दै कतार, यस्ता छन् नयाँ प्रावधान

हाम्रो सन्देश संवाददाता

दोहा, ९ असार ।

संक्रमण नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेसँगै कतारले कोभिड–१९ महामारीसँग जोडिएका स्वास्थ्य मापदण्ड तथा प्र तिब न्धलाई थप खुकुलो बनाएको छ।

कतारको मन्त्रिपरिषद बैठकले कोभिडको कारणले यसअघि लगाइएका प्रति बन्धलाई अझैं खुकुलो बनाएको हो। यसरी दोस्रो चरणमा गरिएको ‘प्र तिबन्ध फुकुवा’ सम्बन्धी व्यवस्था शुक्रबारदेखि कार्यान्वयनमा आएको छ।

सेवा सुविधामा थप सहजता ल्याउने उद्देश्यका साथ मन्त्रिपरिषद्ले पूर्णरुपमा कोभिडविरुद्ध खोप लगाएका व्यक्तिका लागि प्रति बन्ध खुकुलो बनाउँदै लगेको हो।

कोभिड महामारी नियन्त्रणमा आएको सफलता र पछिल्लो अवस्थाको बारेमा स्वास्थ्यमन्त्रीले प्रकाश पारेसँगै प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अल–थानिको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयको अनुमोदन गरेको हो।

कार्यालय

सार्वजनिक र निजी कम्पनीका अधिकतम ८० प्रतिशत कर्मचारीले कार्यालयमा गइ काम गर्न पाउने छन् । बाँकी कर्मचारीले भने आफू रहेकै स्थानबाट काम गर्नु पर्नेछ। सैनिक, सुरक्षा तथा स्वास्थ्य क्षेत्रका कर्मचारीको हकमा यो नियम लागू हुने छैन।

सार्वजनिक तथा निजी क्षेत्रका सबै कर्मचारीले अनिवार्यरुपमा मन्त्रालयबाट स्वीकृत प्राप्त ’रेपिड एन्टिजन’ परीक्षण प्रत्येक साता गर्नुपर्नेछ। यो नियम कोभिडविरुद्धको खोपको पूर्ण मात्रा नलिएका कर्मचारीको सन्दर्भमा लागू हुनेछ। कोभिड विरुद्धको खोपको पुर्ण मात्रा लिएका र कोभिड भइ निको भएका व्यक्तिको सन्दर्भमा भने यो नियम लागू हुने छैन ।

कुनै कार्यालयको बैठक बस्नुपर्ने भएमा पूर्णरुपमा खोप लगाएका १५ जना कर्मचारी भौतिक रुपमा उपस्थित भइ बैठक बस्न सक्ने छन्। तर, त्यसभन्दा धेरै व्यक्ति उपस्थित हुनुपर्ने भएमा अनलाइनबाट बैठक बस्नुपर्ने प्रावधानलाई यथावत् राखिएको छ।

त्यस्तै, मानिसहरू आफ्नो परिवारसँग वा एक्लै गाडीबाट बाहिर निस्किदा बाहेक अन्य अवस्थामा माक्स अनिवार्य गरिएको छ। प्रत्येक मानिसको लागि घर बाहिर निस्किदा कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ’एहत्राज’ अनिवार्य गरिएको छ।

प्रार्थना स्थल

दैनिक प्रार्थनाको साथै शुक्रबार गरिने बिशेषः प्रार्थना समेतको लागि मस्जिदमा जान पाइने छ। सात वर्षभन्दा कम उमेरका बच्चालाई भने सो अनुमति हुने छैन।

शौचालय तथा एब्लुसन सुविधा बन्द नै रहनेछन्।

अन्य सावधानीका मापदण्डहरु स्वास्थ्य तथा इस्लामिक मामिला मन्त्रालयले निर्दिष्ट गर्नसक्ने बताइएको छ।

सामूहिक जमघट

पूर्णरूपमा कोभिडविरुद्ध खोप लिएका १० जनाले इन्डोर जमघट गर्न पाउने छन्। कुनै एक व्यक्तिले मात्र खोप नलिएको खण्डमा भने ५ जना व्यक्ति मात्रै त्यस्तो इन्डोर जमघट हुन सक्नेछन्। खोपको दुबै मात्रा लिएका २० जनासम्मलाई आउटडोर भेटघाटका लागि अनुमति दिइएको छ।

वैवाहिक वा यस्तै समारोहमा अधिकतम ४० जनासम्म मात्रै जमघट हुन पाइने छ जसमध्ये कम्तिमा ७५ प्रतिशतले खोपको दुवै मात्रा लिएको हुनुपर्नेछ।

खोप नलगाएका व्यक्तिको लागि इन्डोरमा हुने सामूहिक भेटघाट प्रतिबन्ध लगाइएको छ। तर, आउटडोरमा भेला हुन आवश्यक भएमा पाँच जनासम्म जम्मा हुन पाउनेछन्। एकै घरमा बस्ने एउटै परिवारका सदस्य त्यसरी जमघट गर्नुपर्दा १० जनासम्म संगै पार्कमा जम्मा हुन सक्नेछन्।

प्राइभेट बिच (समुन्द्र तट)

आम सर्वसाधारणको लागि ४० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइनेछ।

सवारी साधन

मेट्रो सेवा तथा सार्वजनिक सवारी सेवा ३० प्रतिशत क्षमताका दरले सञ्चालन गर्न पाइनेछ। तर, यात्रीले ट्रेन वा बसभित्र केही खान वा पिउन पाउने छैनन्। स्टेशनमा रहेका भोजनालय तथा ’स्मोकिङ जोन’ भने बन्द रहने छन्।