भोली देखि युएई-काठमाडौं एकतर्फी हवाई उडान सुरु, भाडा अत्याधिक महङ्गो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाल वायुसेवा निगमको वाईडबडि जहाज नेपाल एयरलाइन्सले यहीँ जुन २३ तारिखदेखि दुबई–काठमाण्डौको एकतर्फी हवाई उडान सुरु गर्ने भएको छ।

नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका,अलपत्र परेका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सका अनुसार युएईबाट हुने उद्दार उडान असार ९ गते जुन २३ तारिख र असार १६ गते जुलाई १ तारिखको लागि तय भएको एयरलाइन्सले जनाउनुभएको छ।

युएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ ।

उडान एकातर्फी भएकाले युएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । युएईबाट नेपाल आउनको लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । युएईबाट हुने उडान नियमित उडान नै हो तर एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ । युएईका ट्राभल एजेन्सीहरुले नेपाल आउनको लागि टिकट मूल्य १५०० दिराम देखि १८०० दिराम सम्म भाडाको शुल्क लिएको जानकारी प्राप्त भएको छ।

युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन् । नेपालमा कोरोना महामारी बढेको कारण युएई सरकारले नेपाललाई युएई जान रोकेको कारण नेपालीहरु युएई जान नपाउने भएका हुन् ।

यसअघि नेपाल सरकारले युएई सहित मलेसिया, साउदी अरेबिया लगायतको अत्याधिक नेपाली श्रमिक कार्यरत रहेको मुलुकमा हवाई उडान गर्ने निर्णय गरिसकेको छ। तर कहिले ? र कुन दिन देखि उडान सञ्चालन गर्ने भनेर मिति सार्वजनिक गर्न बाँकी रहेको छ।