विदेश बाट फर्किएका श्रमिकलाई होटल क्वरेण्टीन खर्च सरकारले दिने, मलेसिया, यूएई र साउदीबाट पनि उडान खुल्ने

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका देश र मलेसियाबाट श्रम गरी फर्कने नेपालीका लागि ५ दिन होटल क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै मलेसिया, जापानलगायत देशहरूसँग हवाई सेवा खुकुलो बनाउने निर्णय पनि भएको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो । जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतार, टर्की र चीनबाट सरकारले सातामा एक उडान सञ्चालन गरिरहेको छ । यी देशहरूबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने मन्त्री तामाङले जानकारी दिनुभयो ।

करार सकिएका,भिसाको अवधि सकिएका र अन्य अत्यावश्यक कामले घर फर्कने तयारीमा रहेकाहरू टिकट काटेर पनि फर्कन्न पाएका छैनन् । तोकिएको समयमा घर फर्कन नपाउँदा कतिपय श्रमिक गन्तव्य देशमा नै जरिबानामा पर्ने अवस्था सृजना भइसकेको छ । तर सरकारको यो निर्णयले समस्यामा परेका श्रमिकलाई राहत पुग्ने छ । उज्यालो अनलाईन