मन्त्री मनाङेले गरेको टिप्पणीप्रति एमालेको आपत्ती

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असार ।

गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ ।

मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक मायानाथ अधिकारीले मन्त्री गुरूङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे ।

प्रमुख सचेतक अधिकारीले हाम्रो सरकार बन्यो, सबको हिसाब किताब हुन्छ भन्दै धम्की दिन थालिएको बताए । केही दिनअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले प्रदेश प्रमुख कार्यालय जाँदा रोक्ने प्रहरी निरीक्षकलाई हिसाबकिताब हुने धम्की दिएका थिए ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भएका छन् ।

शपथपछि पत्रकारसँग कुरा गर्दै उनले आफू भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय जाने बताएका छन् ।

यो मन्त्रालय योजना र आर्थिक हिसाबले निकै हेभीवेट मानिन्छ । आफूले युवा तथा खेलकुद मन्त्रालयमा काम गर्न जग बसाएको र अब भौतिक पूर्वाधारतिर जाने उनले बताए ।

यो मन्त्रालय माओवादीका रामजी बरालले पाउने पक्का भए पनि मनाङेलाई दिनुपर्ने बाध्यता आइपरेको छ । मनाङे सरकार बनाउन र गिराउन निर्णायक भएकाले उनले मागेअनुसारकै मन्त्रालय पाउने लगभग पक्का छ ।

मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए । `अब खेलकुदमा गएर काम गर्न गाह्रो छैन,´ उनले भने, `म अब जुन मन्त्रालयमा जाँदै छु त्यहाँ इन्जिनियर, ठेकेदारको लापरबाही छ । अब त्यो सुधार्ने हो ।´

कांग्रेसका एक सांसदले पनि मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित रहेको बताए । मनाङेले खेलकुद मन्त्रालय कांग्रेस सांसद भागवतप्रकाश मल्ललाई दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्रीमा मनाङेसहित चार जनाले आज शपथ लिएका छन् । उनीहरूको मन्त्रालयको टुंगो लागिसकेको छैन । हाललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैँले राखेका छन् ।