के झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गर्न गएका हुन्? यसो भन्छन् उपचारमा संलग्न चिकित्सक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३ असार ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि बुधबार भारत प्रस्थान गरेका छन्। खनालको सचिवालयका अनुसार उनको बिहीबारबाट नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरू गरिएको छ।

नर्भिक अस्पतालले खनालमा ‘पोस्ट कोभिड’ समस्या भएको जनाएको छ। तर, आफन्तले ‘एक्कासी’ भारत लैजाने निर्णय गरे। ‘पोस्ट कोभिड’ उपचारका लागि उनले अपोलो नै किन रोजे?

थप उपचारका लागि दिल्ली लैजाने निर्णय भएपछि नर्भिकले बुधबार डिस्चार्ज दिएको थियो। ‘अस्पतालले उपचार नै गर्न सक्दैनौं भनेर डिस्चार्ज गरेका होइनौं,’ एक चिकित्सक भन्छन्, ‘उहाँहरू आफ्नै निर्णयले जानु भएको हो।’

लामो समयदेखि खनालको स्वास्थ्य हेरिहेका चिकित्सकका अनुसार उनमा मृगौलाको समस्याबाट हुने लक्षण र पोस्टकोभिडका समस्या देखिएका छन्।

‘उहाँको फोक्सोमा पानी जमेको देखिएको छ। पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको छ,’ ती चिकित्सक भने। खनाल नेपाल रहँदासम्म अक्सिजनको सपोर्टमा थिए।

खनालको केही समयअघि मिर्गौलामा समस्या भएको खबर बाहिर आएका थिए। तर, उनले त्यस्तो समस्या नभएको बताउँदै आएका छन्। गत चैतमा स्वास्थ्यमा समस्या आएपछि खनाल अपोलो अस्पताल पुगेका थिए। उनलाई डायलासिस वा प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएका थिए।

‘उहाँको मिर्गौला एकदमै कमजोर चलिरहेको थियो। तर, अन्य सबै कुरा ठीक थियो। औषधि खाने र मुख बार्ने गरिराख्नु भएको थियो। ‘पोस्ट कोभिड’ हुँदा मिर्गौलामा थप समस्या देखा प¥यो,’ उनले हेल्थपोस्टसँगको कुराकानीमा भने।

खनालको स्वास्थ्य अवस्थाको विषयमा नर्भिकबाट परीक्षण गरेर अपोलो पठाउने गरिएको थियो। अपोलोमा यसअघि नै मिर्गौला चेकजाँच गरेका कारणले यसपटक पनि चिकित्सकले उतै गएर परीक्षण गर्न सुझाव दिएका थिए।

ती चिकित्सकका अनुसार खनाल अब डायलासिस वा प्रत्यारोपणमा जानुपर्ने हुन्छ। ‘उहाँमा कोभिड नेगेटिभ छ। तर, स्वास्थ्य अवस्था रिकभर भएन। झन्–झन् अवस्था बिग्रँदै गएको छ। अहिले उहाँको तत्कालको समस्या भनेको ‘पोस्ट कोभिड’ हो,’ उनी भन्छन्।

कोभिड हुनुभन्दा अगाडि खनालको मिर्गौलाले २५–३० प्रतिशतको हाराहारीमा काम गरेको थियो। त्यससमयमा औषधिबाट स्वास्थ्य अवस्था स्थिरमा राखेका थिए।

तर, कोभिडले थप समस्या निम्त्याउँदा ‘डायलाइसिस’ मा नै जानुपर्ने अवस्था आएको चिकित्सक बताउँछन्। ‘उहाँलाई कुनै पनि बेलामा डायलाइसिस वा प्रत्यारोपण गर्न पर्ने हुनसक्छ,’ ती चिकित्सक भन्छन्, ‘पहिला उहाँमा पोस्ट कोभिड समस्या हल हुनुपर्छ।’