काठमाडौँ, ३ असार ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ कै बैठक बोलाउने तयारी गरेको भनिए पनि कुनै जानकारी नआएपछि नेकपा एमालेको असन्तुष्ट पक्षले छुट्टै बैठक डाकेको छ।
असन्तुष्ट पक्षले पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली लचक बन्दै आफूहरुसहितको स्थायीकमिटी बैठक बोलाउने आश गरेका थिए।
असार २ गते नै ओलीले उक्त बैठक डाक्ने भनिए पनि कुनै तयारी नदेखेपछि यतिबेला असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।
भर्चुअल माध्यमबाट जारी बैठकमा एकता रक्षाका लागि भन्दै ओलीले लगातार आफ्ना दूत खटाइरहने तर आफू भने वार्ताका लागि अगाडि नआउने विषयले धेरै संशय पैदा भइरहेको सदस्यहरुले बताएका छन्।
ओलीविरोधी मोर्चामा लागेका माधव नेपालसहितका नेताहरु विपक्षी गठबन्धनसँग मिलिरहँदा असन्तुष्ट पक्षभित्रकै केही सफ्ट लाइनर नेता भने अनिश्चयमा परेका छन्। उनीहरु कुनै पनि हालतमा पार्टी फुट्न नदिन लागिरहँदा नेपालहरु भने विपक्षीसँगै अघि बढ्न चाहिरहेका छन्।