मलेसिया, साउदी र युएई(दुबई)मा भएका नेपालीहरुलाई आयो खुशीको खबर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३ असार ।

अन्तरराष्ट्रिय उडानका लागि चार्टर्ड उडान नहुने भएको छ । चार्टर्ड उडानमा यात्रुसँग धेरै भाडा लिएको उजुरी पर्न थालेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान बन्द गरेको जनाएको छ । विदेश जाने यात्रुहरूले बढी भाडा तिरेको उजुरी परेपछि नियमित उडान खुलाउने गरिएको मन्त्रालयको भनाइ छ । विभिन्‍न मुलुक गएका यात्रुले हामीलाई विभिन्‍न माध्यमबाट गुनासो गरेपछि चार्टर्ड बन्द गरेका हौँ,’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी भन्छन्,’ मन्त्रालयको नीतिमा चार्टर्ड उडान प्राथमिकता छैन ।’

विदेश जान टिकट खरिद गर्दा ट्राभल एजेन्सीले तोकेको भाडादरभन्दा बढी लिएमा नाम तोकेर प्रहरी कार्यालयमा जाहेरी दिन सक्ने अधिकारीले बताए ।

यात्रु बोक्ने गरी चार्टर्ड नभएको र स्वास्थ्य सामग्री बोक्नका लागि मात्र चार्टर्ड उडान अनुमति दिएको उन उनको भनाइ छ । सरकारले नियमित उडानलाई पहिलो प्राथमिकतामा राखेको छ । सोही अनुरुप पहिलो चरणको नियमित उडान यही जेठ १८देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको थियो ।

यी देशहरूमा नियमित उडान सुचारु भएकाले पनि चार्टर्ड बन्द गर्ने योजना अनुरुप बन्द भएको उनको दाबी छ । नेपालमा विभिन्न समयमा आएर बसोबास गरेकाहरू स्वदेश फर्कन नपाएपछि फर्कने वातावरण मिलाइदिन सम्बन्धित मुलुकका दूतावासले आग्रह गरेकाले मन्त्रालयले अनुमति दिएको थियो ।

‘विभिन्न समयमा वैदेशिक रोजगारमा गएका मानिसहरू कोभिडका कारण अलपत्र परेकाले सहज उद्धार गर्नुपर्ने भएकाले पनि नियमित उडान प्राथमिकता राखिएको हो,’ अधिकारी भन्छन् ।

नियमित उडान नहुँदा धेरै नेपालीहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि नियमित उडान खोलिएको उनले बताए । आगामी सातादेखि थप तीन मुलुकका लागि नियमित उडान सुचारु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीसीएमसीलाई अन्य मुलुककका लागि पनि नियमित उडान खुलाउन प्रस्ताव गरेको छ । सीसीएमसीले मन्त्रिपरीषद्को‍ बैठकमा उडान खुलाउने प्रस्ताव लगेमा उडान नियमित हुने अधिकारी बताउँछन् ।

मलेसिया, युएई र साउदी अरबका लागि नियमित उडान खुलाइने प्रवक्ता अधकारीले जानकारी दिए । यसअघि टर्की, चीन र युएईका लागि उडान खुलिसकेको छ । ‘स्वास्थ्य सामग्रीको मात्र चार्टर्ड उडान भइरहेको छ’ नियमित उडान खुलिसकेकाले चार्टर्ड उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । जेठ २३ गतेदेखि चार्टर्ड उडान बन्द गरेको उनले बताए । अहिले स्वास्थ्य सामग्री आयात गरिएका चार्टर्ड उडान मात्र हुने गरेको क्षेत्रीको भनाइ छ ।

सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो । त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको छ ।