जुन २३ तारिखदेखि दुबई–काठमाण्डौ उडान हुने, नेपालबाट यात्रु युएई लैजान नपाउने

हाम्रो सन्देश संवाददाता

यूएई ।

नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ।

जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ ।यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरू बढ्दै गएकाले एकतर्फी भए पनि उडान सुरु गर्न लागेको एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले उज्यालोलाई जानकारी दिनुभयो ।

एयरलाइन्सको वाइड बडी जहाजमार्फत आउँदो जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने पक्का भएको र सोही अनुसार टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाइन्सको युएई जीएसएका प्रतिनिधि साजु पौलले जानकारी दिनुभयो ।

यूएईबाट काठमाण्डौका लागि सातामा दुई उडान भए पनि जहाजले नेपालबाट भने यात्रु ल्याउन पाउने छैन । यूएईले लगाएको प्रतिबन्धका कारण जहाज नेपालबाट रित्तै युएई आउने छ । विशेष नियमित उडान भए पनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सको भनाइ छ ।

दुबई काठमाण्डौ एकतर्फी उडानको मूल्य झन्डै ५० हजार नेपाली रुपैयाँ रहेको यहाँ रहेका ट्राभल्सहरूले जनाएका छन् । त्यही पैसामा पनि सजिलै टिकट पाउन नसकिएको यात्रुहरूको गुनासो छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । उडान रोक्दा घर फर्कन्न टिकट हातमा लिएका यात्रुहरू समेत यूएईमै रोकिएका छन् ।

कतिपयले उच्च जोखिम मोल्दै दुबई दिल्ली हुँदै पनि यात्रा गरेका छन् । यूएईमै अड्किएका कतिपय श्रमिकको भने भिसा अवधिभन्दा धेरै बसेकाले ओभरस्टे बापतको जरिबाना पनि सुरु भइसकेका छ । source :उज्यालो अनलाइन