स्वास फेर्न गार्हो भएपछि दिल्ली जान लागेका खनालले जव दिए यस्तो भावुक सन्देस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २ असार ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ ।खनाललाई आज दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । जेठ ३१ गते स्वास्थ्यमा अचानक समस्या आएपछि नेता खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई नर्भिकमा भर्ना गरेर उपचार गरिएको थियो । खनाललाई प्रोस्टेट ग्रन्थी र मिर्गौला सम्बन्धी समस्या देखिएको छ। अपोलोमा खनालको नियमित उपचार हुँदै आएको छ। अपोलोका चिकित्सकसँगको परामर्श अनुसार थप उपचारका लागि उहाँलाई उतै लगिएको सचिवालयले जनाएको छ ।

यसअघि अपोलोमा उपचार भैरहेकै अवस्थामा खनालको मिर्गौलाले काम गर्न छाडको बताइएको थियो। खनाललाई यसअघि संक्रमण भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहनुभएको थियो । त्यसअघि टाउको हल्लिने समस्याको खनालले एपोलो अस्पतालका साथै चीनको बेइजिङमा समेत उपचार गराउनुभएको थियो ।

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह

गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।