मेलम्चीमा वाढिका कारण घरको छतमा फसेका दुई जना लाई सेनाको हेलिकप्टर द्धारा उद्धार

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २ असार ।

मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो। बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए। यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको छ। बाढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्षति पुर्‍याएको छ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ, उनले भनेका छन्, “यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छ । स्थानीय जनता, जसको घर बगाएको छ उहाँरूलाई घर हुनेहरूले आश्रय दिन अनुरोध गर्छु ।