काठमाडौं, १ असार ।
सोमबार साँझा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच कोटेश्वरस्थित पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता मावकुमार नेपाल निवासमा छलफल भयो ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । तर, तीन नेताबीच गठबन्धन कमजोर पार्ने षड्यन्त्रविरुद्ध झनै एकतावद्ध भएर संघर्ष गर्नेबारे निक्कै लामो छलफल चल्यो ।
तीन नेताबीच ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा निक्कै लामो छलफल चलेकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनलाई कमजोर पार्न खोजिएको भन्ने तीन नेताको बुझाइ थियो । तर, कसले, कसरी कमजोर पार्न खोजेको भन्ने विषयमा छलफल भएन । डेढ घन्टा चलेको छलफलमा तीन नेताले आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जाहेर गरेका छन् ।
केही दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित पाँच पूर्व प्रधानमन्त्रीले ‘देशमा विदेशी हस्तक्षेप बढ्यो’ भन्ने आसयको विज्ञप्ति निकालेका थिए । लगत्तै गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको आसयमा नीत शीर्ष नेताबीच छलफल भएको हो ।