घ्यु-तेलको मूल्य २८ प्रतिशतले बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ जेठ ।

चालु आर्थिक वर्षको १० महिनामा देशमा मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत कायम रहे पनि घ्यु-तेल उप-समूहको मूल्य २८ प्रतिशतले बढेको छ ।

वैशाख महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ८३ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ८१ प्रतिशत छ ।

२०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यु-तेल उपसमूहमा सबैभन्दा बढी २८ दशमलव २० प्रतिशत मूल्यवृद्धि भएको छ । माछामासु, गैरमदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव १२ प्रतिशत, ९ दशमलव ८५ प्रतिशत र ९ दशमलव ८४ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मूल्यवृद्धि कायम भएको छ ।

२०७७ वैशाखमा यी क्षेत्रहरूमा क्रमशः ५ दशमलव ७१ प्रतिशत, ६ दशमलव ३५ प्रतिशत, ५ दशमलव ११ प्रतिशत र ५ दशमलव १९ प्रतिशत मूल्यवृद्धि भएको थियो ।