मलेसियामा कोरोनाले एक नेपाली श्रमिकको मृत्यु, दाहसंस्कार सम्पन्न

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), ३० जेठ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले वैदेशिक रोजगारी क्रममा मलेसियामा सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आएका एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना ताप्लेजुङको साविक हाङपाङ गाविस वडा नं. ३, हालको आठराई त्रिवेणी गाउँपालिका ३ निवासी नेपाली श्रमिक रनमान यक्सोको कोरोना भाइरस (कोभिड–१९) को कारण गएको शुक्रबारको दिन जुन ४ तारिख आफू बस्ने रुममै होम क्वारेन्टाइनमै रहेको बेलामा मृत्यु भएको थियो।

आजभन्दा १५ वर्ष अगाडि मलेसियामा काम गर्न आएर पछिल्लो केहि बर्षदेखि आम्पाङ भन्ने ठाउँमा अवैधानिक हैसियतमा एक सेक्युरिटी कम्पनी संग आबद्ध रहि सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए।

मृतक यक्सोको शव पोस्टमार्टमको लागि अस्पतालमा लगिएको थियो। अहिले अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द रहेको र कोभिड-१९ ले मृत्यु भएकाको शव नेपाल् फर्काउन प्रक्रिया झन्झटिलो रहेकोले पोस्टमार्टम पश्चात् नेपालमा रहनु भएका मृतकको परिवारको सहमतीय सिफारिसमा मलेसियामा रहेका सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ, मलेसिया शाखाद्वारा अन्तिम दाहसंस्कार , अन्त्येष्टि आज जुन १२ तारिख शनिबारको दिन सम्पन्न गरिएको संस्थाका अध्यक्ष दिल केरुङ लिम्बूले जानकारी गराउनुभयो।

कोरोना संक्रमण उच्च रहेकोले मलेसियामा पनि अहिले लकडाउन भइरहेकोले गर्दा धेरैजना भेला हुन नमिलेको,तर पनि स्वास्थ्य मापदण्डको पालना गर्दै यक्सोको शवलाई क्वालालम्पुरको चेरासस्थीत शवदाहमा अन्त्येष्टि सम्पन्न गरिएको अध्यक्ष केरुङले बताउनुभयो।