काठमाडौं, २९ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको बानेश्वरस्थित तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरूले त्रिभुवन विमानस्थलतर्फ जाने मूल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरूलाई तितरबितर पारेर टायर हटाएको छ ।
ओली भाइरस पोखरामा पनि सल्कियो
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदसहित दाबी पेश गरेका विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै आलोचना भएको छ ।
प्रदेश प्रमुख सिताकुमारी पौडेलले मुख्यमन्त्रीमा बहुमत सांसदसहित दाबी पेश गरेका विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपालीलाई नियुक्त नगरिएको भन्दै आलोचना भएको हो ।
बिहीबार मात्रै विश्वासको मत पाउन नसेकेका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि केन्द्रमा जस्तै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेर संसद विघटन र निर्वाचनको घोषणा हुने हो कि भन्ने आशंक विपक्षीमा छ ।
त्यस विषयमा पूर्व प्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाललाई मुख्यमन्त्री नियुक्त नगरिएको भन्दै आलोचना गरेका छन् ।
उनले भनेका छन्, ‘होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका व्यक्तिको पुन मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !’
सामाजिक सञ्जालमा पनि प्रदेश प्रमुखको तीव्र आलोचना भइरहेको छ । विश्वासको मत पाउन नसकेका गुरुङलाई फेरि मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको आशंका गर्दै उनीहरूले आलोचना गरिहेको छन् ।