काठमाडौं, २९ जेठ ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप सरकारले लागु गरेका प्रतिबन्धात्मक नियमबीच नेपालले हाल तीनवटा देशसँग मात्रै हवाई उडानहरू गरिरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ती देशहरूसँग पनि सीमित उडान मात्रै भइरहेको छ। टर्कीको इस्तानबुल र काठमाण्डू, कतारको दोहा र काठमाण्डू अनि भारतको दिल्ली र काठमाण्डूबीच सातामा एक-एकवटा उडान हुँदै आएको छ।
टर्की र कतारका लागि यही जून महिनाको प्रारम्भदेखि हवाई उडान सुरु भएको हो भने नेपाल र भारतबीच त्यसभन्दा पहिलेदेखि नै उडान हुँदै आएको छ।
ती उडानहरूका लागि नेपाल एअरलाइन्स, टर्किश एअरलाइन्स, एअर इन्डिआ र कतार एअरवेजलाई अनुमति दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्।
टर्किश एअरलाइन्सले प्रत्येक बिहीवार इस्तानबुल-काठमाण्डू-इस्तानबुल र नेपाल एअरलाइन्सले प्रत्येक सोमवार काठमाण्डू-इस्तानबुल-काठमाण्डू उडान गर्दै आएको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।
कतार एअरवेजले प्रत्येक सोमवार दोहा-काठमाण्डू-दोहा र नेपाल एअरलाइन्सले पनि सोमवार नै काठमाण्डू-दोहा-काठमाण्डू उडान गर्ने गरेको छ। नेपाल एअरलाइन्सले प्रत्येक बुधवार काठमाण्डू-दिल्ली-काठमाण्डू र एअर इन्डियाले प्रत्येक शुक्रवार दिल्ली-काठमाण्डू-दिल्ली उडान गर्दै आएको छ।
चिनियाँ वायुसेवाले देखाएन रुचि
सरकारले काठमाण्डू र चीनको एउटा गन्तव्यमा उडान गर्न दिने निर्णय गरे पनि शुक्रवारसम्म कुनै पनि चिनियाँ वायुसेवा कम्पनीले रुचि देखाएको भन्ने विवरण प्राप्त भएको छैन।
“पछिल्लो पटक कतार, टर्की र चीनबीच पुनः हवाई उडान सुरु गर्न दिने निर्णय भएको हो। तर चीनको कुनै वायुसेवा कम्पनीले अहिलेसम्म उडानका लागि आवेदन दिएको छैन,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता क्षेत्रीले बीबीसी नेपालीसँग भने।
“उहाँहरूको सेफ्टी प्रोटोकल्स कडा भएकोले पनि रुचि नदेखाउनुभएको हुन सक्छ,” उनले थपे। नेपाल सरकारले चीनको पनि कुनै एउटा वायुसेवा कम्पनीले दुई देशबीच पुनः उडान सुरु गर्नका लागि आवेदन दिन पाउने गरी निर्णय गरेको थियो।
जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कतार, टर्की र चीनका एक-एक स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।
के खोप लगाएकाहरू क्वारन्टीनमा बस्नुपर्दैन?
कोभिड खोपका दुईवटै मात्रा लगाइसकेका यात्रुहरूको हकमा क्वारन्टीन बसाइबारे कतिपय मानिसमा अन्योल देखिएको छ। तर मापदण्डमा कुनै परिवर्तन नल्याइएको भन्दै द्विविधामा नपर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका प्रवक्ता तारानाथ अधिकारीको आग्रह छ।
“विश्व स्वास्थ्य सङ्गठनका मापदण्डबमोजिम नै हाम्रा मापदण्ड छन्। नेपाल आएपछि दुइटै डोज लगाएका र नलगाएका सबै क्वारन्टीनमा बस्नुपर्छ,” उनले भने। कसैले कोभिड खोपका दुईवटै मात्रा लगाएको हुँदैमा विमानस्थलबाट सिधै घर जान पाउने छुट नभएको प्रवक्ता अधिकारीले स्पष्ट पारे।
नेपाल आउनेले के के मापदण्ड पालना गर्नुपर्छ?
सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्नेगरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न भन्दै मापदण्ड जारी गरिएको जनाएको छ।
मुख्य बुँदा यस्ता छन्ः
पछिल्लो ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिनका लागि होटल बुकिङ गरेको प्रमाणका आधारमा नेपाल आउने अनुमति पाइने नेपाल आइसकेपछि आफ्नै खर्चमा १० दिन अनिवार्य होटल क्वारन्टीनमा बस्नुपर्ने, होटल क्वारन्टीनपछि लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा भनिए बमोजिमका आइसोलेशनमा बस्नुपर्ने
अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट आउने व्यक्तिहरूलाई स्थानीय तहको सिफारिशमा कम्तीमा १० दिन अनिवार्य होम क्वारन्टीनमा गन्तव्यमा जान दिइने
होम क्वारन्टीनमा बस्दा आफ्नै खर्चमा एघारौँ दिन पीसीआर परीक्षण गराउनुपर्ने
खाडी मुलुक र मलेशियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकमा पाँच दिन अनिवार्य होटल क्वारन्टीन बसेर पीसीआर नेगेटिभ आएपछि १० दिन होम क्वारन्टीनमा बस्नेगरी जान दिइने
कोभिड नियन्त्रणसम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारन्टीन बस्नेगरी जान दिइने
क्वारन्टीन अवधि पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई प्रस्थानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने
स्वीकृत उडानमार्फत् नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन, चार र पाँच तारे होटलमा क्वारन्टीनका लागि बुकिङ गर्न सक्ने