लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्?

हाम्रो सन्देश संवाददाता

मास्कले कोरोना संक्रमण फैलिनबाट जोगाउँछ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। मास्क लगाउनेले आफू र आसपासका अरूलाई पनि संक्रमण फैलन नदिन सहयोग पुर्‍याउँछ। कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क लगाउँदा केही अप्ठ्यारो हुने बताउँछन्। उनीहरूका अप्ठ्यारा सामान्यतया यस्ता हुन्छन्ः

मास्क लगाएको केही छिनमै टाउको भारी भएजस्तो हुन्छ, मास्क लगाएपछि सास फेर्न अलि कठिन भएजस्तो हुन्छ, मास्क लगाएपछि नाकबाट भन्दा मुखबाट सास फेर्न सजिलो लाग्छ र मास्कभित्र मुख प्राय: आँ नै भएर बस्छ, मास्कले ढाकेको भाग चिलाएजस्तो लाग्छ, आँखा पोलेजस्तो लाग्छ, मास्कको तुनाले कान दुखाउँछ

लामो समय मास्क लगाउँदा दन्त स्वास्थ्यमा पर्ने असरको तुलनामा यी अनुभव निकै सामान्य हुन्। यो लेखमा मास्कको निरन्तर प्रयोगले हाम्रो दन्त स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव र यसका समाधानका उपायबारे चर्चा गरिएको छ।

लामो समय मास्क लगाउँदा आइपर्ने दन्त/मुख स्वास्थ्य समस्यालाई ‘मास्क माउथ सिन्ड्रोम’ भनिन्छ। अहिले यो जल्दोबल्दो समस्या बनेको छ र दन्त चिकित्सा क्षेत्रमा निकै चर्चा हुन थालेको छ। कोभिड महामारी क्रममा मास्क माउथ सिन्ड्रोमको समस्या लिएर आउने वा समस्याबारे जान्न खोज्नेको संख्या ह्वात्तै बढेको छ।

मास्क माउथ सिन्ड्रोमका असर के-के हुन्?

सास फेर्ने तरिकामा फरक आउनु:

अध्ययनले देखाएको छ, मास्क लगाएपछि मानिसको श्वासप्रश्वासमा केही परिवर्तन हुन सक्छ। छिटो-छिटो सास तान्न मन लाग्नुका साथै सास फेर्न नाकको सट्टा मुख प्रयोग हुन सक्छ। मुखबाट सास फेर्दा थुकको मात्रा कम हुन जान्छ। मुख सुख्खा भएर भित्रको वातावरणमा असर गर्छ। भित्र मिलेर बसेका जीवाणुको संख्या तलमाथि भई हानिकारक जीवाणुले बढ्ने मौका पाउँछ।

डिहाइड्रेसन:

दिनभर मास्क लगाउँदा अरू बेलाभन्दा निकै कम पानी पिइन्छ। यसले मुख सुख्खा हुन्छ। मुखमा थुकको मात्रा कम भएर सास गनाउने, गिजा सुन्निने, गिजाबाट रगत आउने र लामो समय वास्ता नगरे दाँतमा कीरा लाग्ने समस्यासम्म हुन्छ।